दशैंको घर फर्काइ भनेको नेपालीको सबैभन्दा ठूलो यात्रा हो। यस वर्ष म पनि काठमाडौंबाट भालुबाङतर्फका लागी बिहानै टोयोटा हायस चढेँ। बसभित्र दशैंको चटारो, घरको माया र पर्खिरहेका आफन्तको कुराले सबै यात्रु उत्साहित थिए। तर यात्राको बीचमा खानाका लागि बस रोकिएको ठाउँले त्यो उत्साहमाथि चिसो पानी खन्यायो।
बिहानै काठमाडौंबाट हिँडेको बस नारायणगढ हुँदै मध्याह्नतिर एउटा राजमार्गको होटेलमा रोकियो। चालकले "यहाँ ४० मिनेट खाना खाने" भने। यात्रुसँग विकल्प थिएन। बसहरू रोज्ने होटेल प्रायः चालक र सहचालकसँग साँठगाँठ भएका हुन्छन् भन्ने कुरा तपाईं हामी सबैलाई अवगत नै छ। हामीले त्यहाँ पुग्दा एकैपटक पाँच-सात बस उभिएका थिए र खानाको लाइन लामो थियो।
मैले देखेका समस्याहरूमा मूख्यत:
सफाइको अभाव,भान्छाको छेउमा थुप्रिएका जुठा भाँडा, झिंगाले घेरिएको तरकारी, र हात धुने ठाउँमा साबुनको अभाव आँखैले देखिन्थ्यो। भात-तरकारी खुला भाँडामा घन्टौँ राखिएको थियो।
यात्रुको भीड कम हुने समयमा पकाएको खाना भीड बढ्दा पनि त्यही दिइन्थ्यो। दाल पातलो र तरकारी चिसो थियो। खानामा ताजापन थिएन भन्ने कुरा स्वादले नै बताउँथ्यो।
मूल्य र गुणस्तरमा समेत बेमेल रहेको मैले पाए।एक प्लेट खानाको रु. ४५०–६०० सम्म लिइन्थ्यो, तर त्यो मूल्यअनुसारको गुणस्तर थिएन। मूल्यसूची कतै टाँसिएको थिएन।
जगमा राखिएको पानी कहाँबाट आएको हो, उमालिएको हो वा होइन, कसैलाई थाहा थिएन। धेरै यात्रुले बोतलको पानी किन्नुपर्यो।
दशैंको भीडमा ग्राहकको स्वास्थ्य भन्दा पनि आफ्नो नाफा लाई मात्र ध्यान दिने भएकाले झन् बिग्रने स्थिति रहेको पाईएको छ।
चाडपर्वमा यात्रु संख्या दोब्बर हुन्छ। होटेलहरू ग्राहकको चापमा खाना छिटो तयार पार्न खोज्छन्, जसले गर्दा सरसफाइ र पकाउने मापदण्ड कमजोर हुन्छ। कतिपयले अघिल्लो दिनको बाँकी खाना पनि पुनः तताएर दिन्छन्। यात्रुले यो थाहा पाउने कुनै उपाय हुँदैन।
लामो दूरीको यात्रामा पेट बिग्रिनु भनेको बसभित्रै समस्या हो। मेरै छेउको सिटमा बसेका एक यात्रुलाई केही घन्टापछि वाकवाकी लाग्यो र बसले बीचमै रोक्नुपर्यो। यो अनौठो घटना थिएन, यात्रुहरू यस्तो अनुभव सामान्य मान्छन्।
यसैले राजमार्गका होटेलको नियमित खाद्य गुणस्तर अनुगमन हुनुपर्छ।
बस कम्पनीले चालकलाई कमिसनको आधारमा होटेल छान्न नदिई स्वच्छ र प्रमाणित ठाउँमा रोक्ने नीति बनाउनुपर्छ।
मूल्यसूची र खाद्य सुरक्षाको मापदण्ड सार्वजनिक रूपमा देखिने गरी टाँस्नुपर्छ।
दशैं जस्ता चाडपर्वमा विशेष निगरानी टोली परिचालन हुनुपर्छ।
अन्तमा
भालुबाङ पुग्दा घरमा पकाएको सेल रोटी र मासुको स्वाद सम्झँदै मैले सोचेँ, घर फर्कन खोज्ने यात्रुलाई बाटोमा नै बिरामी पार्ने खाना किन ख्वाइन्छ?
हामी यात्रुले आवाज उठाउन सक्यौँ, र सम्बन्धित निकायले आफ्नो जिम्मेवारी निभायो भने, आउँदो दशैंमा घर फर्कने यात्रा सुरक्षित, स्वस्थ र सम्झनलायक हुन सक्छ।
यो ब्लग लेखकको व्यक्तिगत अनुभवमा आधारित छ। तपाईंको अनुभव के रह्यो? टिप्पणीमा लेख्नुहोस्।